विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

एसाम अल हदारी, फरिद मोन्द्रागोन र रोजर मिलाको कम्पोजिट तस्बिर

तस्बिर स्रोत, Getty Images

    • Author, जोन्टी कोल्मन
    • Role, बीबीसी स्पोर्ट संवाददाता
  • Published
  • पढ्ने समय: ४ मिनेट

विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष वा त्यसभन्दा बढी उमेर भएका केवल नौ जनाले खेलेका छन्। यसपालिको फिफा विश्वकप सुरु भएपछि उक्त सूचीमा दुई खेलाडी थपिएका हुन्।

अहिलेसम्म आयोजित विश्वकप खेल्ने सबैभन्दा 'पाका' खेलाडी इजिप्टका एसाम एल हदारी हुन्। विश्वकप २०१८ मा आफ्नो नाममा कीर्तिमान रहने गरी खेल्दा उनी ४५ वर्ष १६१ दिनका थिए।

समूह चरणमा साउदी अरबविरुद्धको खेलमा सहभागी हुँदा गोलरक्षक एल हदारीले त्यसअघिको रेकर्डलाई दुई वर्षभन्दा बढीले भङ्ग गरेका थिए। उक्त खेलमा इजिप्ट साउदी अरबसँग २-१ ले पराजित भएको थियो।

शीर्ष स्थानमा रहेका पाका खेलाडीहरू सबै जना ३९.५ वर्षभन्दा बढी उमेरका छन्।

एल हदारी, फारिद मोन्द्रागोन, रोजर मिला र प्याट जेनिङ्स मात्रै ४१ वर्ष हुँदा कम्तीमा एक पटक विश्वकपमा सहभागी भएका थिए।

नोएर र भोजिन्य थपिए, अरू को थपिएलान्

क्युरसाउसँगको खेलमा जर्मनीका मानुएल नोयर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विश्वकप २०२६ मा अहिलेसम्म खेल्ने सबैभन्दा पाका खेलाडी जर्मनीका मानुएल नोयर हुन्

यसपालि विश्वकप खेल्ने टोलीमा सहभागी खेलाडीहरूमध्ये स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन सबैभन्दा पाका हुन्। उनी ४३ वर्षका भए। स्कटल्यान्ड २८ वर्षपछि विश्वकपमा पुगेको हो।

गोर्डनले यसपालि खेल्ने अवसर पाए भने उनी विश्वकपको इतिहासमै मैदानमा ओर्लिने दोस्रो पाका खेलाडी हुने छन्।

पोर्चुगलका ४१ वर्षे कप्तान क्रिस्टियानो रोनाल्डोले यसपालि छैटौँ पटक विश्वकप खेल्न लागेका छन्। आर्जेन्टिनाका मेस्सी र उनी दुवै जनाले छवटा विश्वकप खेलेर नयाँ कीर्तिमान बनाउने छन्। रोनाल्डो उमेरका आधारमा ज्येष्ठ खेलाडीहरूको सूचीमा पनि पर्ने छन्।

विश्वकप २०२६ मा खेल्ने ४० वर्ष वा त्यसमाथिका प्रथम खेलाडी जर्मनीका मानुएल नोयर हुन्। क्युरसाउसँगको खेलमा सहभागी भएपछि उनी पाका उमेरका शीर्ष १० खेलाडीको सूचीमा सातौँ स्थानमा परेका छन्। उक्त खेलमा जर्मनीले क्युरसाउलाई ७-१ ले पराजित गर्‍यो।

त्यसको २४ घण्टा नपुगी भएको स्पेनसँगको खेलमा सहभागी केप भर्डका गोलरक्षक भोजिन्य पनि सो सूची परेका छन्। उक्त खेलमा पहिलो पटक विश्वकपमा पुगेको क्युरसाउले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। भोजिन्य प्रतियोगिता आरम्भ हुनुअघि ४० वर्ष नाघेका हुन्।

बोस्निया-हर्ट्सगोभिनाका स्ट्राइकर एडिन जेको र क्रोएशियाका मिड्फील्डर लूक मोड्रिच तीनै जना ४० वर्ष नाघिसके। उनीहरूले यसपालि विश्वकपमा खेल्ने ठानिएको छ।

चालीस कटेका अरू दुई खेलाडी मेक्सिकोका गिल्येर्मो ओचोआ र यूरुग्वेका फेर्नान्डो मुस्लेरा पनि आआफ्ना टोलीमा परेका छन्।

अहिलेसम्म विश्वकप खेलेका १० पाका खेलाडी

केप भर्डका गोलरक्षक भोजिन्य

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, केप भर्डका गोलरक्षक भोजिन्य स्पेनसँगको खेलमा सहभागी हुँदा ४० वर्ष १२ दिन पुगेका थिए

१. एसाम एल हदारी - इजिप्ट, साउदी अरबसँगको खेलमा (२५ जुन, २०१८) - ४५ वर्ष १६१ दिन

२. फारिद मोन्द्रागोन - कोलम्बिया, जापानसँगको खेलमा (२४ जुन, २०१४) - ४३ वर्ष ३ दिन

३. रोजर मिला - क्यामरून, रुससँगको खेलमा (२८ जुन, १९९४) - ४२ वर्ष, ३९ दिन

४. प्याट जेनिङ्स - नोर्दर्न आयरल्यान्ड, ब्रजिलसँगको खेलमा (१२ जुन, १९८६) - ४१ वर्ष, ० दिन

५. पीटर शिल्टन - इङ्ग्ल्यान्ड, इटलीसँगको खेलमा (७ जुलाई, १९९०) - ४० वर्ष, २९२ दिन

६. डिनो जोफ - इटली, जर्मनीसँगको खेलमा (११ जुलाई, १९८२) - ४० वर्ष, १३३ दिन

७. मानुएल नोयर - जर्मनी, क्युरसाउसँगको खेलमा (१४ जुलाई, २०२६० - ४० वर्ष, ७९ दिन

८. अली बूम्निजेल - ट्यूनिशिया, युक्रेनसँगको खेलमा (२३ जुन, २००६) - ४० वर्ष, ७१ दिन

९. भोजिन्य - केप भर्ड, स्पेनसँगको खेलमा (१५ जुन, २०२६) - ४० वर्ष, १२ दिन

१०. जिम लेटन - स्कटल्यान्ड, मोरक्कोसँगको खेलमा (२३ जुन, १९९८) - ३९ वर्ष, ३३४ दिन

गोलरक्षकको पोसाकमा इजिप्टका एसाम एल हदारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१८ विश्वकपमा साउदी अरबविरुद्ध खेल्दा इजिप्टका गोलरक्षक एसाम एल हदारी आफ्नो १५९औँ अनि अन्तिम अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका थिए

यसपालि विश्वकपका खेलहरूपछि नोयर र भोजिन्य शीर्ष १० को सूचीमा परेका हुन्।

त्यसअघि यो सूचीमा यी खेलाडीहरू उक्त सूचीको पुछारमा थिए -

डेभिड जेम्स - इङ्ग्ल्यान्ड, जर्मनीसँगको खेलमा (२७ जुन, २०१०) - ३९ वर्ष, ३३० दिन

एटिबा हचिन्सन - क्यानडा, मोरक्कोसँगको खेलमा (१ डिसेम्बर, २०२२) - ३९ वर्ष, २९६ दिन

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।